
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय फुटबलको प्रशासनिक निकाय फिफाबाट भ्रष्टाचार अभियोगमा प्रतिबन्धमा रहेका पूर्वअध्यक्ष गणेश थापाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पत्राचार गर्ने निर्णय गरेको छ ।
एन्फाको चैत ११ (सोमबार) र १२ (मंगलबार) दुई दिन बसेको नवौं कार्यसमिति बैठकले विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र अन्य गतिविधिलाई अनुसन्धान गरी कारवाही गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।
२०७२ सालमा फिफाले थापालाई १० वर्षसम्म फुटबलसम्बन्धि कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध गरेको थियो ।
पछिल्लो समय थापाको विषयमा एन्फा महासचिव किरण राईले एक टेलिभिजनमा अन्तर्वार्ता दिएका थिए । उनले अन्तर्वार्ताका क्रममा थापाले करोडौं रूपैयाँ हिनामिना गरेको आरोप लगाएका थिए । त्यसपछि आक्रोशित बनेका पूर्वअध्यक्ष थापाले राईविरूद्ध प्रहरीमा उजुरी र अदालतमा मानहानीको मुद्दा दायर गरेका थिए ।
यो विवादपछि एन्फाले थापाविरूद्ध आवश्यक अनुसन्धान तथा छानबिन गरि कारबाहीको लागि विभिन्न निकायमा पत्राचार गर्ने निर्णय गरेको हो । एन्फाको निर्णयबारे थापाले सामाजिक सञ्जालबाटै प्रक्रिया दिएका छन् ।