
शुक्रबार काठमाडौंको तीनकुनेहिंसात्मक प्रदर्शन गर्ने राजावादी समूहका ‘कमाण्डर’ मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै पक्राउ परेका छैनन् ।
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित पाँच जनालाई प्रहरीले गएराति नै पक्राउ गरे पनि प्रदर्शनका 'कमाण्डर' प्रसाईं भने फरार छन् ।
प्रहरीले उनका पछ्याइमा काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजी तीव्र पार्दैछन् । प्रहरीका अनुसार प्रसाईंसँगै उनीनिकटका मानिसहरू पनि मोबाइल अफ गरेर फरार छन् ।
शुक्रबार निषेधित क्षेत्रतर्फ प्रदर्शनकारीहरूलाई आउन नदिनका लागि तैनाथ भएको प्रहरीलाई नै किचुँलाझै गरी प्रसाईंले गाडी हुइँकाएपछि प्रदर्शनकारीहरू उग्र बनेका थिए । त्यसपछिको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो भने ११० जना सुरक्षाकर्मी घाइते भएका थिए । १४ ठाउँमा आगजनीका घटना र निजी तथा सरकारी गरी १५ गाडी जलाएका थिए ।
परिस्थिति नियन्त्रणमा लिन काठमाडौं प्रशासनले अपराह्नदेखि कर्फ्यु आदेश जारी गरेको थियो । साँझदेखि प्रसाईंको खोजी सुरू गरेको थियो । प्रसाईं भने मोबाइल अफ गरेर भागेको प्रहरीले जनाएको छ । उनको खोजीको क्रममा प्रहरीले उनको घर निगरानी गरेको थियो । प्रसाईंले चलाएका गाडीभित्रबाट भिडिओ खिच्ने युट्युबर पनि मोबाइल स्वीच अफ गरी फरार रहेको प्रहरीले जनाएको छ ।
उनीमाथि ज्यान मार्ने उद्योग, हिंसात्मक गतिविधि, आगजनी र सार्वजनिक सम्पत्ति तोडफोडका आरोप लगाइएको छ ।