
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञापन बजार व्यवस्थापन र सुदृढ गर्न राष्ट्रिय विज्ञापन नीति अत्यन्त आवश्यक रहेको बताएका छन् ।
चैत १५ गते राष्ट्रिय विज्ञापन सङ्घको दोस्रो वार्षिक साधारणसभा तथा पहिलो अधिवेशनमा बोल्दै मन्त्री गुरुङले पुरानो नीति र व्यवस्थामा चलेको विज्ञापन नीति समयानुकूल परिमार्जन गर्न नसक्दा व्यवहारमा जटिलता आएको बताएका हुन् ।
सूचना प्रविधिको विकास बढ्दो भए पनि ऐन र कानुन पुरानै प्रवृत्तिमा रहेकाले कार्यान्व्यनमा समस्या आएको उनले औँल्याए । तसर्थ मन्त्रालयले आफ्नो मातहतमा रहेका सबै निकायलाई चुस्त बनाउन आवश्यक ऐन र नीति परिमार्जन गर्नतर्फ केन्द्रित रहेको मन्त्री गुरुङले जानकारी दिए ।
“ऐन र कानुन पुराना भए, समयसापेक्ष बनाउन संशोधन गर्न लागेका छौँ”, उनले भने, “केही आवश्यकताका आधारमा नयाँ ऐन ल्याउनुपर्ने देखिन्छ ।”
कार्यक्रममा व्यक्ताहरूले उठाएको मदिराजन्य विज्ञापनमा सरकार खुकुलो हुनुपर्ने मागमाथि मन्त्री गुरुङले सरोकारवालासँग छलफल गरेर लचिलो हुन सकिने धारणा व्यक्त गरे । त्यसैगरी, पछिल्लो समय विज्ञापन बजार खुम्चिँदै गएको र मिडिया सञ्चालक बढ्दै गएकाले विज्ञापन व्यवस्थापनप्रति सरकार संवेदनशील रहेको उहाँले प्रष्ट पारे ।
विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन बजार घटिरहेको अवस्था उल्लेख गर्दै सरकारले यसबारे स्पष्ट नीति तत्काल ल्याउनु आवश्यक रहेकामा जोड दिए । विज्ञापन बजार पारदर्शी बनाउन विज्ञापन ऐजेन्सीहरूको पनि साथ चाहिनेसमेत बताए ।
कार्यक्रममा बोल्दै मिडिया एलाइन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकारले विज्ञापन बजार घटेर २० प्रतिशत पुगेको अवस्था दर्शाउँदै विज्ञापन व्यवसाय बचाउन राज्य गम्भीर हुनुपर्ने बताए ।
नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले विज्ञापन, मिडिया हाउस र श्रमजीवी पत्रकार एकअर्कासँग अन्तरसम्बन्धित रहेको हुँदा पत्रकारको रोजगारसँग जोडिएको विज्ञापन नीति सबैका लागि महत्त्वपूर्ण रहेको बताए । उनले पत्रकारको जीविकोपार्जनसँग जोडिएको विज्ञापन बजार व्यवस्थित र लचिलो हुनुपर्ने धारणा राखे ।
महाधिवेशनबाट प्रदीप प्रसाद कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । मिडिया शोलुसन प्रालिका कोइरालाको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको संघको अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।
संघको प्रथम उपाध्यक्षमा सिटी एक्प्रेस मिडिया प्रालिका अमृतकुमार पन्थी, द्वितिय उपाध्यक्षमा एड चौतारीका आशिष खड्का, महासचिवमा मिडिया जर्नलमा बिमल खड्का, सचिवमा नेपाल मिडिया हाउस प्रा.लि.का नवराज निरौला, कोषाध्यक्षमा स्मारिका ट्रेडर्स प्रालिका अरुण आर्याल र सह–कोषाध्यक्षमा सिगास मिडिया हव प्रालिका चन्द्रकान्त अवस्थी सर्वसम्मत रुपमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रदीप सत्यालले जानकारी दिए ।
सदस्यहरुमा स्वर्गद्वावारी मिडिया प्रा.लि.का बसन्त योगी, डच मिडिया प्रा.लि.का रवि अर्याल, एमबिसस मिडिया प्रा.लि.का राधाकुमारी ढकाल रोजी, प्रिन्ट प्रो इन्टरप्राइजेजका अनुप अधिकारी, के एण्ड आर जिटल मार्केटिङका कुलराज भट्टराई, पोलिसी मिडिया प्रालिका सविन पोखरेल, नेश्नल डिया सर्भिस प्रा.लि.का अदिप पाठक निर्वाचित भएका छन् ।