
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पूर्वराजा ज्ञानेन्द्र शाह कानूनभन्दा माथि नरहेकाले कारबाही गर्न सरकारसँग माग गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै माओवादी सांसद रेखा शर्माले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रलाई कानुनको दायरामा ल्याउन माग गरेकी हुन् ।
शर्माले पूर्वराजाकै उक्साहटमा १५ गतेको घटना भएको दाबी गरिन् ।
उनले भनिन्, ‘आन्दोलनको आयोजक जुन संस्थालाई राखिए पनि कार्यक्रमको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र संलग्न भएको स्पष्ट रूपमा देखिएको छ । संविधान र कानुनभन्दा माथि कोही छैन । पूर्वराजा ज्ञानेन्द्र र दुर्गा प्रसाईलाई कानुनी कारबाहीको दायरामा ल्याउन पार्टीको तर्फबाट माग गर्दछु ।’
उनले माओवादी पश्चगमनका पक्षमा कहिले नभएको र आगामी दिनमा कहिल्यै नहुने बताइन् ।
शर्माले मृत्यु भएका दुई युवालाई शहीद घोषणा गर्न पनि माग गरिन् ।