NRN
सरकारले नसुनेपछि शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्तालको घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो ।

पाँच दिनदेखि शिक्षा ऐन जारी गर्नेलगायतका माग पूरा गराउन शान्तिपूर्ण ढंगले काठमाडौं केन्द्रित आन्दोलन गर्दैआएको शिक्षक महासंघले सरकारले सम्बोधन नगरेपछि आम शैक्षिक हड्ताल घोषणा गरेको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गदेखि निरन्तर आन्दोलनमा छन् ।

यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।

महासंघले आन्दोलनको अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update