NRN
आईपीयू दिगो विकास स्थायी समितिमा पहिलोपटक नेपाल,  अञ्जान शाक्य विजयी

अन्तर–व्यवस्थापिका संघ (आइपियू) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य निर्वाचित भएकी छन् ।

उज्बेकिस्तानको राजधानी ताश्केन्टमा भएको सम्मेलनमा माल्दिभ्स र इरानका दुई उम्मेदवारलाई पछि पार्दै शाक्य निर्वाचित भएकी हुन् । 

अन्तरव्यवस्थापिका संघको १५० औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सभामुख देवराज घिमिरे सहितको टोलीले भाग लिएका छन् ।

सभामुख घिमिरेले दिगो विकासको क्षेत्रमा गहिरो अनुभव हासिल गरेकी शाक्यलाई समर्थन गर्न भनी आईपीयूको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई पत्र पठाएका थिए । 

सांसद शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी प्रस्तुत गरेकी थिइन् । नेपालले पहिलो पटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको हो ।

सांसद शाक्यले आफ्नो जितसँगै यसले नेपालको प्रतिष्ठा अन्तरराष्ट्रिय मञ्चमा पनि बढाउन सहयोग पुर्‍याएको महसुस आफूले गरेको बताइन् । प्रधानमन्त्री, सभामुख, संसद् सचिवालयको अन्तरराष्ट्रिय महाशाखा लगायतलाई पनि उनले धन्यवाद दिइन् ।

सांसद शाक्य राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजक छिन्। 

उनकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update