NRN
पर्यटकीय शहरमा पोखरामा थपियो सवा अर्ब लागतको ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा

- राजन घिमिरे

पोखराको लेकसाइड स्ट्रिट नं. १७ मा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रा. लि.’ संचालनमा आएको छ । सन् २००८ देखि पर्यटन व्यवसायमा क्रियाशील चिल्ली ग्रुपको लगानीमा स्थापित यो होटल बुटिक अवधारणामा आधारित रहँदै स्थानीय मौलिकता र अन्तर्राष्ट्रिय स्तरका सुविधा प्रदान गर्ने लक्ष्यसहित संचालन गरिएको होटलका प्रवन्ध निर्देशक भिष्मराज पौडेलले पत्रकार सम्मेलन गरि जानकारी दिएका हुन् । उनका अनुसार सन् २०२१ डिसेम्बरमा सुरु भएको होटलको निर्माण कार्य कोभिड महामारीका चुनौतीबीच करिब साढे तीन वर्षमा सम्पन्न भएको हो।

करिब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको होटलमा दुईवटा इन्टरकनेक्टेड ब्लकहरू, ५५ सुसज्जित कोठा (४७ डिलक्स बुटिक, ५ सुपर डिलक्स, २ जूनियर स्वीट र १ प्रेसिडेन्सियल स्वीट), स्वीमिङ पूल, स्पा, सम्मेलन हल, बार, रेस्टुरेन्ट, बेसमेन्ट पार्किङ, अग्नि नियन्त्रण प्रणाली र दुईवटा लिफ्टसहितका सुविधा उपलब्ध छन्। कुल लगानी (जग्गासहित) करिब १ अर्ब २५ करोड रुपैयाँ रहेको पौडेलले जानकारी दिए । पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष विश्वराज पौडेलले पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य परम्परालाई समेट्दै ‘टेम्पल बेल बुटिक होटल’ सञ्चालनमा ल्याइएको बताए । उनले भने “अन्तराष्ट्रिय विमान स्थल संचालन साथै पोखरा भ्रमणवर्ष २०२५ घोषणा भएको छ, पोखरामा गुणस्तरीय सुविधा सम्पन्न होटलको थप आवश्यतालाई महसुस गर्दै हामीले बुटिक होटल संचालनमा ल्याएका हौ । ”

भवनको डिजाइनमा नेपाली ढुंगा, काष्ठकला, ढाका, थान्का, झुमर तथा चित्रकलाको प्रयोग गरिएको छ भने सार्वजनिक क्षेत्रहरू वातावरणमैत्री तरिकाले हरियाली प्रवद्र्धन हुने गरी सजाइएको पौडेलले बताए । उनका अनुसार करिब ६० जना दक्ष कर्मचारी कार्यरत होटलमा केही कर्मचारीले स्वदेश तथा विदेशमा अनुभव प्राप्त गरेका छन् भने अन्यलाई आतिथ्य, व्यवस्थापन, पाककला र ग्राहक सेवा सम्बन्धी तालिम दिइएको छ । हाल होटलको सफ्ट ओपनिङ सम्पन्न भइसकेको छ ।

नयाँ वर्ष २०८२ लक्षित गर्दै स्वदेशी तथा विदेशी पाहुनाहरूका लागि विशेष छुट तथा अफरहरु उपलब्ध गराइएको छ। नेपाली पाहुनाका लागि सिंगल र डबल रुममा छुटसहित शुल्क क्रमशः ७ हजार ५ सयदेखि ८ हजार ५ सय रुपैयाँ तोकिएको छ भने विदेशी पाहुनाका लागि सिंगल रुम १२ हजार र डबल रुम १४ हजार रुपैयाँ निर्धारण गरिएको छ । होटलले मिडिल तथा हाइ–एन्ड सेग्मेन्टका पर्यटकलाई लक्षित गर्दै स्पा सेवामा ३० प्रतिशत छुट समेत प्रदान गरेको छ ।

पोखराको बुटिक होटलहरूको सूचीमा विशेष स्थान बनाउने लक्ष्य लिएको होटलले होटल निर्माणमा कार्यमा जुटेका पारम्पारिक सिपभएका कालिगढ देखि विभिन्न कार्यमा संलग्न श्रमिकहरुलाई होटलको ग्राण्ड ओपनिगंमा सम्मान गर्ने कार्यक्रम रहेको कर्पोरेट म्यानेजर लेखनाथ पहारीले जानकारी दिए । चिल्ली अन्तर्गत अहिले चिल्ली बार एण्ड रेष्टुरेन्ट, हिमालयन ग्लोरी इन र ३६० डिग्री स्काई लाउन्ज , हिमालयन गेष्ट हाउस सञ्चालन भइरहेको छ । ग्रुपले अहिले १ सय ५० जनालाई रोजगारी दिएको छ । ग्रुप अन्तर्गत जग्गासहित २ अर्ब बढीको लागनी रहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update