
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीले बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्न आज बुटवल जाँदै छन् । राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा सभा गर्न लागेको छ ।
यसअघि रुपन्देहीमा पार्टीको जिल्ला अधिवेशन र अन्य कार्यक्रममा प्रधानमन्त्री आउने प्रचार गरिए पनि उनी आएका थिएनन् ।
देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभा बुटवल मण्डपमा गर्न लागिएको छ ।
सभालाई सम्बोधान गर्न प्रधानमन्त्रीसहित एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल लगायतका नेताहरु बुटवल जाँदै छन् ।
बुटवल सभा पूर्व युवा सङ्घले रुपन्देहीमा मोटरसाईल र्याली निकाल्ने तयारी गरेको छ । रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा लगायतका जिल्लाबाट एमालेका कार्यकर्ता जागरण सभा सहभागी हुन आउँदै छन् । प्रधानमन्त्रीको सचिवालयले दिउँसो १ बजे ओली बुटवल आउने जनाएको छ ।
एमालेले सभा गर्ने ठाउँ बुटवल मण्डपको निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल अगाडि बाल उद्यान रहने खाली ठाउँ हो । बुटवल अन्तराष्ट्रिय सभा हल तथा अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल आयोजनाका एक कर्मचारीका अनुसार ३० हजार स्क्वायर फुट क्षेत्रफलको सभा हुने ठाउँमा बढीमा २० हजार मान्छे अट्छन् ।
सभामा एमालेले रुपन्देहीका १६ वटै पालिका सहित नवलपरासी,कपिलवस्तु,पाल्पा अर्घाखाँचीबाट नेता कार्यकर्ता बुटवल ल्याउँदै छ ।