
पर्साको वीरगञ्जमा शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज साँझ साढे ६ बजेदेखि लागू हुने गरी भोलि मध्यान्ह १२ बजेसम्म लागू हुनेगरी वीरगन्ज महानगर आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।
तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।
दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।
हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा अन्य समुदायका व्यक्तिहरुले ढुङ्गा हानेपछि झडप सुरु भएको थियो । शोभा यात्राका सहभागीहरुले आक्रोशित हुँदै केही मोटरसाइकल र होटलमा आगजनी र तोडफोड गरेका छन् ।