
हङकङ टी-२० सिरिजको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ ।
आइतबार हङकङमा भएको चार देशीय सिरिजमा नेपालले कुवेतसँग ३ रनको हार ब्यहोरेको हो । कुवतेले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भयो ।
नवौं विकेटका लागि नन्दन यादवले बसिर अहमदसँग ७२ रनको साझेदारी गरेपछि नेपाल जित नजिक पुगेको थियो । तर अन्तिम चार बल बाँकी छदा चार रन बनाउँन नसक्दा नेपाल स्तब्ध भयो ।
उत्कृष्ट लयमा देखिएका नन्दनले १४ बलमा ३७ रन जोडे । उनले २ चौका र ४ छक्का प्रहार गरे । अन्तिम ओभरमा नेपाललाई ११ रन चाहिएको थियो भने एक विकेट मात्र बाँकी थियो ।
पहिलो बल नो बल हुँदा बसिरले छक्का प्रहार गरेका थिए । त्यसपछि फ्रिहिटमा उनले रन लिन सकेनन् । तेस्रो बलमा पनि रन प्रहार नगरेको बसिर चौथो बलमा भने क्याच हुँदा नेपाल १७१ रनमा अलआउट भयो । बसिरले ४३ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ८० रन बनाए ।
तेस्रो ओभरको पाँचौ बलमा ओपनर कुशल भुर्तेल ३ रनमा आउट भए । अर्को ओभरको पहिलो बलमा अर्का ओपनर आसिफ शेख ११ बलमा २१ रन जोडेर आउट भए । लगत्तै अर्को बलमा कुशल मल्ल डकआउट भए ।
त्यसपछि, पाँचौ ओभरमा दीपेन्द्रसिंह ऐरी चार बल शून्यमा आउट भए। नेपालले ४.५ ओभरमा सुरूवाती चार विकेट गुमाउँदा २८ रन जोडेको थियो।
कप्तान रोहितकुमार पौडेलले ७ रन मात्र जोड्न सके । सोमपाल कामी ४ रनमा रनआउट भने गुल्सन झा ९ रनमा क्याच भए । करण केसी ४ रनमा क्याच भए ।
बलिङमा कुवेतका अनुदिपले ३ विकेट लिए ।
हङकङमा आइतबार टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कुवेतले ७ विकेटको क्षतिमा १७४ रन बनायो ।
आक्रामक सुरुवात गरेको कुवेतका लागि ओपनर रविजा सन्दरुवालने ६३ रन बनाए । उनले ३६ बलमा ६ चौका र ४ छक्क प्रहार गरे ।
अर्का ओपनर क्लिन्टो अन्तोले १४ बलमा २६ रन बनाए । उस्मान पटेलले १५ बलमा २३ रन र कप्तान मोहमद अस्लामले १३ रन बनाए ।
बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २-२ विकेट लिए । सोमपालले ४ ओभरमा २६ रन र नन्दनले ३४ रन दिए । कुशल भुर्तेल र करण केसीको नाममा १-१ विकेट रह्यो ।
यसअघि नेपालले समूह चरणमा कुवेत र कतारलाई पराजित गरेको थियो भने आयोजक हङकङसँगको खेल वर्षाले अवरुद्ध भएको थियो ।