NRN
यौन दुर्व्यवहारमा मृत फेला परेकी आनन्दीको घटना छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

सिराहामा यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्यु भएको घटनामा छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै बुधबार प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ । 

चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतिघरमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।

पुस ९ मा बरियारपट्टि गाउँपालिका–१ कचनारीको नरगीस्थित दिदीको घरमा गइरहेको बेला आनन्दीदेवीलाई स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले बगैँचामा लगेर बलात्कार प्रयास गरेका आरोप छ ।

उनले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । तर, अहिलेसम्म आरोपी पक्राउ परेका छैनन् । करणी उद्योगमा संलग्न दुईजना फरार छन् । उनीहरु भारत भागेको आशंका गरिएकोछ  । 

आनन्दीका श्रीमान् वैदेशिक रोजगारीमा भएकाले दुई वर्षीया छोरीसहित माइतमै बस्दै आएकी थिइन् ।

मृतकको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update