
पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनस्थित गोन्द्राङ-पुल्चोक ६ लेन सडक उद्घाटन भएको छ ।
गोन्द्राङ-पुल्चोक ६ लेनको सडक शुक्रबार दिउँसो उद्घाटन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक मन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरकी मेयर रेनु दाहालले संयुक्त रूपमा सडक उद्घाटन गरेका हुन् ।
यसअघि शुक्रबार नै प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री सिंहले कुरिनटारस्थित इच्छाकामना गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै अन्य मन्त्रीहरू, सांसदहरू, स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षाकर्मी, राजनीतिक दल, व्यवसायी, पत्रकार, सामाजिक अभियन्ता लगायतको उपस्थिति रहेको थियो ।
यो सडक खण्ड विकासले क्षेत्रीय व्यापार, आवागमन, बसोबास, र यातायात सेवामा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ ।
६ लेन सडकसँगै फुटपाथ, ड्रेनेज, स्ट्रीट लाइट र संकेत चिन्हहरू समेत व्यवस्थित गरिएको छ । भरतपुरको मुख्य बजार क्षेत्रमा भरतपुर महानगरले ट्राफिक लाइट जडानको काम समेत सुरु गरिसकेको छ ।