
राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।
तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि द्विविधा नराखी परीक्षाको तयारी गर्न अनुरोध गरे ।
शिक्षकहरू परीक्षा सञ्चालनका लागि तयार नभए निजामती कर्मचारी खटाएर भएपनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निष्कर्षमा बोर्ड पुगेको हो ।