
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र कार्लोसबीच भेटघाट भएको हो ।
भेटमा प्रधानमन्त्रीले कार्लोसको खेलजीवनसँग सम्बन्धित विभिन्न विषयमा चासो राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले विश्वकप विजेता फुटबलर कार्लोसलाई ढाका टोपी लगाइदिएका थिए ।प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई ‘माउन्टेन फ्ल्याइट’ र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे ।
नेपाली फुटबलको विकासमा सरकार प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्रीले विश्वस्तरीय खेलाडीको भ्रमणले नेपाली खेलक्षेत्रलाई ऊर्जा थप्ने बताएका थिए ।
काठमाडौंमा जारी नेपाल सुपर लिग २०२५ को खेल हेर्ने निम्तो मान्न कार्लोस मंगलबार काठमाडौं आइपुगेका हुन् । उनले बुधबार दशरथ रंगशालामा हुने एनएसएल २०२५ को दोस्रो क्वालिफायर खेल हेर्नेछन् ।