
- राजन घिमिरे
प्रथम त : नेपाली फिल्मकर्मीहरूलाई एउटा प्रश्न..? तपाईहरू कसका लागि फिल्म निर्माण गर्दै हुनुहुन्छ ? तपाई र तपाईको सिर्जनालाई मुटुभन्दा बढी माया गर्ने आफ्ना दर्शक, शुभ-चिन्तक वा प्रशंसकहरूका लागि कि बिदेशमा तपाईको सिर्जना र सिनेमा देखाएर नाम र दाम कमाउंने अन्तराष्ट्रिय नेपाली चलचित्र बितरकका लागि ? पहिला यो कुरा निर्णय गर्नुस ।
अन्तराष्ट्रिय नेपाली चलचित्र बितरकका लागि हो भने तपाईको सृजना माथि उनिहरू हावी हुनु वा उनिहरूले तपाईको सृजना माथि कैंची चलाउंन खोज्नु अचम्मको कुरा भएन । किनकी त्यो अबसर तपाईहरूले नै दिनु भएको हो । यदि उनीहरूको लागि होइन आफ्ना दर्शकहरूका लागि आफ्ना सिर्जना पस्कन लागेको हो भने हिजो जन्मिएका र तपाईका सिनेमा देखाएर शान र मान पाएकाहरूका चलचित्र बितरकहरूका अगाडि तपाईहरू नतमस्तक भएर यिनीहरू जे जे भन्छन त्यही त्यही मानेर त्वम:शरणमको अबस्थामा किन पुग्नु भएको छ त ?
तपाईको सृजनामा तागत छ वा दर्शक प्रिय भयो भने जसरी पनि बिश्व बजारमा तपाईको फिल्म बिक्छ । प्रबासमा रहनु हुने नेपालीहरूले पनि हेर्न पाउंछन । तपाईको फिल्म बिश्व मांझ जानबाट रोक्न कसैले पनि माखो मार्न सक्दैन । किनकी यिनीहरूलाई पनि पैसा कमाउंनु छ । यिनीहरू नेपाली सिनेमाको अनि तपाईहरू जस्तो सर्जकको माया लागेर आएका होइनन्, ब्यापार गर्न आएका हुन् । भोली नेपाली सिनेमा चल्न छाडे भने न त यिनीहरू यो क्षेत्रमा हुन्छन् न त यिनीहरूले तपाईहरूलाई नै चिन्छन् ? यो कटु सत्य हो ।
तपाईकै सृजनासंग जोडिन पाएकोमा यस्ता बितरकहरू आज मिडियामा छाउंन पाएका छन् । नेपाली सिनेमाको ठूलै पण्डित भएर खोक्न पाएका छन् । यिनीहरूले यो अबसर नेपाली फिल्मबाटै पाएका हुन् । हिजो पनि यिनीहरू बिदेशमा कुनै ब्यापार ब्याबसायमा नै थिए होलान् । तर, खै त त्यति बेला यिनीहरूको चहल पहल ? कसले चिन्यो त्यति बेला यिनीहरूलाई ? आज नेपाली फिल्मकै कारण आफू चिनिएको यथार्थतालाई पनि यि बितरकहरूले मनन गर्नु पर्यो नि ।
त्यसकारण बितरकहरूले भने अनुसार यो कलाकार राख । यो सिन काट । यो गित राख । यो दिन रिलिज गर । बाहिर यो कलाकारको बजार राम्रो छ वा यसको बजार छैन । नत्र हामी चलाउंदैनौ जस्ता धम्कीपूर्ण घुर्कीको भूमरीमा परेर आफ्नै कथाको मर्म मर्ने गरेर सम्झौता गर्न तयार नहुनु होस् । उनिहरूले भने अनुसार जबसम्म तपाईहरू चलिरहनु हुन्छ, तबसम्म तपाई र तपाईको सिर्जना माथि अन्तराष्ट्रिय चलचित्र बितरकहरू हावी भैरहन्छन् । कुन फिल्म चल्छ वा कुन चल्दैन र कस्तो फिल्म चल्छ र चल्दैन भन्ने दावी गर्न सक्नेले हरेक महिना आफै फिल्म निर्माण गर्दा हुन्छ होला नि - किन नबनाएको त ?
पछिल्लो समय बिदेशमा नेपाली सिनेमाको बजार बढेको छ । यो सकारात्मक पक्ष हो । यो अबस्था आउंनुमा शत प्रतिशत अन्तराष्ट्रिय चलचित्र बितरकहरूको हात मान्न सकिन्न । किनकी यो समयको माग हो । प्रबासमा नेपालीहरूको उपस्थिति बाक्लिनु र समय अनुसार नेपाली फिल्मले आफूलाई मेकिंगमा परिमार्जित गर्दै अन्तराष्ट्रीय बजारमा आफ्नो शानदार उपस्थिति जनाउंन सक्नु पनि हो ।
आफ्नो कारणले मात्र बिदेशमा नेपाली सिनेमाको बजार बढ्न सकेको दाबी गर्दै नेपाली फिल्मकर्मीको लागानी र सृजना माथि कैंची चलाउंन खोज्नु भनेको सरासर गलत सोच र प्रबृत्ति हो भन्दा फरक नपर्ला । आज चार करोड लागानी परेको निर्माताको फिल्मलाई १० लाख दिएर त्यो फिल्म माथि हैकम जमाउन खोज्नु जस्ता ब्यबहार चलचित्र बितरकहकको लागि भोली आफैलाई घातक हुन नसक्ला भन्न सकिन्न ।
आफूले बितरण गरेको फिल्म केही कम चल्यो भने फिल्म र मेकरको धज्जी उडाउंदै तथानाम भन्दै यिनै बितरक हिड्छन् । अनि कुनै फिल्मबाट करोडौ कमाउंदा अरूले थाहा पाउलान भन्ने सोचेर गुप चुप बस्छन् । घाटा खांदा फिर्ता माग्ने यिनीहरूले कमाउंदा मेकरलाई केही दिएका छन् त ? अबश्य छैनन् । ब्यापार गर्दा कहिले घाटा त कहिले नाफा हुन्छ । यो सहनु पर्यो नि बितरकहरूले पनि । नत्र किन गर्नु ब्यापार ?
यसैबीच हरिबंश आचार्य जस्ता लिडेण्डमाथि हाबी हुन खोज्ने एक अन्तराष्ट्रिय नेपाली चलचित्र बितरक हिस्स परेका छन् । कुरा हो चलचित्र हरिबहादुरको जुत्ताको । यो चलचित्रको यूनिटले रिलिज डेट फिक्स गरिसकेको थियो । तर ति बितरकले यो होइन अर्को डेटमा रिलिज गर्नु भनेर हैकम प्रस्तुत गरेपछी हरिबहादुरको जुत्ताको यूनिटले बरू एडभान्स फिर्ता लैजानुस हामी डेट चेन्ज गर्दै नौ भनेपछी ती बितरकसंग यो फिल्मले सम्झौता रद्द गरेको छ भने ती बितरकले यो फिल्मबाट हात धुनु परेको छ ।
सर्जकले के सोचेर र के कस्तो योजना बनाएर अनि तयारी गरेर रिलिज डेट तय गरेको हुन्छ । त्यो बेला केही रकम एडभान्स दिएको भरमा पुरा फिल्ममाथि हैकम जताउंन खोज्ने बितरकको शैली अबश्य पनि जायज हुंदै होइन । हरिबंश आचार्य जस्ता लिजेण्ड माथि त हाबी हुन खोज्ने बितरकले अरू मेकरलाई कति दबाव दिएका होलान् ? सहजै अनुमान लगाउंन सकिन्छ ।