NRN
शिक्षक आन्दोलन २३ औं दिन, सडकमै रक्तदान कार्यक्रम

शैक्षिक हड्ताल गरेर आन्दोलनमा उत्रिएका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् ।

उनीहरुले विहीबार बिहान बबरमहल–नयाँबोनश्वर सडकखण्डमा रक्तदान कार्यक्रम गरेका हुन् ।

यसअघि उनीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गर्ने र सडकमै नाचगान गर्ने गर्दथे ।

शिक्षक र कर्मचारीमैत्री एन जारी गर्न माग गर्दै उनीहरु चैत २० गतेदेखि निरन्तर आन्दोलनमा छन् । शिक्षक महासंघको अगुवाइमा जारी आन्दोलनका लागि देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएका छन् ।

नयाँ शिक्षा ऐन जारी गर्न, आफूहरुलाई स्थानीय तहअन्तर्गत नराख्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गर्दै आएका शिक्षकहरुको आन्दोलनका कारण विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिन बाध्य भएकी छन् ।

उनीहरुको आन्दोलनकै कारण आजदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि सारेर वैशाख २१ गते पुर्‍याइएको छ भने एसईई परीक्षाको उत्तरपुस्तिका समेत परीक्षण सुरु नहुँदा नतिजा ढिलो प्रकाशित हुने सम्भावना छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update