NRN
मातातीर्थ औँसी मनाउनेहरुको काठमाडौंको मातातीर्थमा घुइँचो

जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाउनेहरुको काठमाडौंको मातातीर्थमा घुइँचो लागेको छ । 

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने पर्व हो ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने औँसी’ ।

यस दिन आमा भएकाहरुले बिहानै स्नान गरी आमालाई उपहार दिने, मनपर्ने खानेकुरा खान दिने र आशिर्वाद लिने प्रचलन छ ।

आमा नभएकाहरुले भने काठमाडौंको मातातीर्थमा पुगेर त्यहाँको कुण्डमा स्नान गर्ने र पूजाआजा गर्ने गर्दछन् । मातातीर्थसम्म पुग्न नसक्नेहरु भने आफू अनुकूलको ठाउँमा पुगी श्राद्ध गर्दै आमाको सम्झना गर्दछन् ।

आमाको सम्झनामा मातातीर्थको कुण्डमा गएर नुहाउने, त्यहाँ रहेको हरिहर (विष्णु र शिव) को पूजा र श्राद्ध गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ ।

कतिपय दर्शनार्थीहरु शनिबार साँझ नै दीप प्रज्वलन गरी रातभर जाग्राम बसेका थिए । त्यसो गरे मातृऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।

‘शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ, त्यसैले आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा निकै महत्वपूर्ण छ,’ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. वासुदेव कृष्ण शास्त्रीले भने ।

त्यसैले भौगोलिक रुपमा आमाभन्दा टाढा भएकाहरु सकेसम्म आज आमालाई भेटेर सम्मान गर्छन् र आशिर्वाद लिन्छन् ।

हिजोआज सामाजिक सन्जालमा आमाको तस्वीर राखेर सम्मान भाव प्रकट गर्ने चलन पनि बढेको छ ।  

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update