NRN
आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप

आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो । बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रयोग गरेको छ । अहिले बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण छ ।

शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् । यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।

सरकारी शिक्षकहरुको आन्दोलन निरन्तर जारी भएकाले नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को वार्षिक परीक्षा समेत प्रभावित भएको छ ।

वैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update