
प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच रहेको आरोप लगाएका छन् ।
सिंहले प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच रहेको दाबी गरेका हुन् ।
केही दिनअघि महामन्त्री थापाले प्रधानमन्त्री केपी ओलीको बेडरुमसम्मै बिचौलियाहरूको पहुँच रहेको आरोप लगाएका थिए ।
त्यसको प्रतिउत्तरस्वरूप सिंहले प्रतिनिधिसभाको बैठकमा बोल्दै भने, ‘‘कांग्रेसमा महामन्त्रीले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नुभयो । आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने ? सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भई कैद र जरिवाना भोगिसकेको व्यक्ति उहाँकै बेडरुममा पुग्छ । कांग्रेसले अहिलेसम्म त्यस्ता व्यक्तिलाई हटाउन सकेको छैन । किनभने नेपाली कांग्रेस संविधान, नियम र कानुनको पालनामा असफल देखिन्छ ।’’
त्यस्तै, सिंहले गृहमन्त्रीको संरक्षणमा तस्करी र गुण्डागर्दी सञ्चालन भइरहेको आरोप पनि लगाए ।