NRN
सरकारलाई मेटमणिको चेतावनी : शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले शिक्षकहरूका माग सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद चौधरीले शासकहरू भाग्नुपरेको इतिहास स्मरण गराउदै यस्तो चेतावनी दिएका हुन् ।

‘शिक्षकका मागअनुसार शिक्षा विधेयकलाई टुंग्याउनको लागि हार्दिक अनुरोध गर्दछु । अन्यथा सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला,’ उनले भने, ‘शासकहरू भागेको कुरा सुन्नुभएको होला नि, पढ्नु भएको पनि होला ।’

‘जनताको अगाडि बहुमत र दुई तिहाईको अंकले काम गर्दैन भन्ने कुरा बंलादेशतिर हेरे पुग्छ,’ उनले भने ।

सांसद चौधरीले सरकारले शिक्षकका जायज माग पूरा गर्नुको सट्टा दमन गरिरहेको आरोप लगाए । उनले सरकारले शिक्षकहरूमाथि दमनपूर्ण व्यवहार देखाएको भन्दै पार्टीको संसदीय दलको तर्फबाट घोर भर्त्सना समेत गरे । 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update