
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत प्रस्थान गरेका छन् । मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली मंगलबार भारत प्रस्थान गरेका हुन् ।
भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट भ्रमण टोलीमा छन् ।
भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्री सहितको टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट एक साताका लागि भारत भ्रमणमा प्रस्थान गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो । मुख्यमन्त्री सहितको टोली वैशाख २२ गतेसम्म भारतमा रहनेछन् ।
भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले आयोजना गर्न गइरहेको लगानी सम्मेलन, ऊर्जा, पर्यटन, कृषि लगायतका विषयमा भ्रमण दौरान छलफल हुने बताए।
भ्रमण टोलीले भारतको दिल्ली, देहरादुन, अयोध्या र लखनउ लगायतका ठाउँको भ्रमण गर्नुका साथै उनीहरूले भारतका संघीय मन्त्रीहरूसँग भेट्ने कार्यक्रम रहेको छ ।
भ्रमणको अन्त्यतिर टोलीले उत्तराखण्डका मुख्यमन्त्री र कृषि मन्त्रीसँग भेट गरेपछि लखनउ हुँदै स्थलमार्गबाट कैलाली फर्कने छ ।
मंगलबार भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री शाहले आफू भारतमा रहँदासम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला मन्त्री बहादुरसिंह थापालाई दिएका छन् ।